सपना


चैत वैशाखको उखरमाउलो गर्मीमा
गैरीखेतमा मकै गोड्दै गर्दा
पिठ्युँमा म निदाउदै थिएँ
आमाले देख्दै थिइन सपना।

पाटाबारीको डिलमा डोको बुन्दै गरेका बुढा बा,
चोया भुइँमा राखी हातमा ककड सल्काएर
मलाई कखरा सिकाउदैथिए,
फोक्सोबाट ओकलिएर आकाशमा उडेको धुवाँ हेर्दै ,
उनले पनि देख्दै थिए सपना।

टाकुराका दाइको जड्यौरी
घुँडामा फाटेको पाएँट लगाएर इस्कुल जान लाग्दा,
उनिको भित्री देखिने झोलाभित्र दुई मुठी निस्तो मकैसंग
हजुरआमाले पोको पारेकी थिइन सपना ।

त्यही सपनाको पछि दौडदै गर्दा,
बाटोमा मैले भेटेँ
अनगिन्ती ढुङ्गा ठेस लगाउन उचालिएका
अनगिन्ती काँडाहरु सपना चिथोर्न तिखारिइरहेका
अनगिन्ती खाल्डाहरु सपना पुर्न गहिरिएका
अनगिन्ती ब्वाँसाहरु झुन्ड झुन्डमा दाह्रा किट्दै चिच्याइरहेका,
नाथे गरिबले पनि सपना देख्ने ?

उच्च शिक्षाको लागि भर्ना हुन जाँदा ,
मार्कसिट हेरेर मुस्कुराएका थिए गुरु
एकछिनमै बाको फाटेका खल्तीले उडायो उनको मुस्कान
मेरो र सरस्वतीको बिचमा ल्याइदिए एउटा गहिरो खोंच
पुल बनाउनलाई मसंग थिइनन् सरस्वतीको सौता (लक्ष्मी)।
हुत्याइदिए मेरो मार्कसिट,
मार्कसिट बिच बाटोमा बज्रियो,
गरिबीको गाडीले किचियो र थिचियो मेरो सपना।
स्वागत गरियो लक्ष्मीमिश्रित अत्तरले सुगन्धित विर्य,
गैरिखेत हडप्ने साहुको छोरो।

काम खोज्न जाँदा
तेर्साइयो अनेकौं प्रश्न
किन घसिनस् कसैलाई चिल्लो ?
किन मोलिनस् कसैको पाउ?
किन चाटिनस् कसैको तलुवा?
किन चढाइनस् पाउमा मोहोर?
किन बोकिनस् कसैको झण्डा ?
किन? किन?? किन???

र वाध्य बनाइयो विदेश पलायन हुन
बन्धकिमा राख्नुपर्यो त्यहि पाटाबारी आफैलाइ बेच्न
इट्टाभट्टीजस्तो नरकमा शितलता थियो प्रियसीको याद
र सपनाको रक्षक थियो भर्खर अंकुरित भएको सानो बिरुवा ।
अनगिन्ती रगत र पसिना बगाएपछि,
केही बिटो नोटका साथ फर्किएँ मसानघाट
आफ्नो जवानिको अस्तु सेलाउन।

आज,
हेर्दैछु पहेँलो इस्कुल बसको झ्यालमा
अलिक ठुलो भएको त्यहि सानो बिरुवा
सोच्दैछु,
कुनैदिन यसमा पनि कोपिला लाग्नेछ ,
फुल फुल्नेछ
ल्याउनेछ सबैको ओंठमा हांसो
र देखाउनेछ सबैलाई सपना
त्यही सपना ।।


Leave a comment